संखुवासभा । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध भएको छ । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका राजमार्गहरूमा सवारी आवागमनमा प्रभावित भएको छ । ९ वटा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही एकतर्फी सञ्चालनमा रहेका छन् ।
कोशी प्रदेशमा सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका – ४ वरुणमा बाढीका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका – ७ तिनधुरेमा पहिरोले मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु छ ।
यस्तै बागमती प्रदेशमा रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीका कारण नेपाल र चीन नाका जोड्ने पुल बगाउँदा डेढ महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ । यस्तै, सोही गाउँपालिकाको स्याउ पाकिङ र मेदामुदुङ क्षेत्रमा पहिरोले पासाङ ल्हामु सडक खण्डका विभिन्न भागहरू पूर्ण वा एकतर्फी सुचारु अवस्थामा छन् ।
साथै उत्तरगया गाउँपालिका–५ नौबिसेमा बाढीले गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु जाने सडक एकतर्फी सञ्चालन छ । गोसाईंकुण्ड गाउँपालिका –२ तातोपानी र फेङ्लुङमा बाढीले पासाङ ल्हामु सडक खण्ड र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध गरेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बादरमोडमा पहिरोले पृथ्वी राजमार्ग र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलामा पहिरोले पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन छ ।
यसैगरी गण्डकी प्रदेशमा बाग्लुङको बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरोले कालिगण्डकी करिडोर र म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरमा पहिरोले बेनी–दरवाङ सडक खण्ड पूर्ण रूपमा अवरोध गरेको छ ।