संखुवासभा-केशरमान कुलुङ
"यागाङ्मा"
लेख -भीष्मराज राई लामसोङ
दिरिङडाँडागाउँ
मिति:२०८१/११/२६ गते
'हाङ्मा'' शब्दमा "या" उपसर्ग लागेर "याहाङ्मा" बन्दछ। 'याहाङ्मा' को शाब्दिक अर्थ लगाउँदा लोहोरुङ भाषामा 'या' को अर्थ 'मुख' हुन्छ अथवा "मुखारविन्दुबाट निस्केको बोलि" अथवा 'आवाज' । त्यस्तै "हाङ्मा" को अर्थ हुन्छ "रानी वा देवी अथवा वन पहराकी रानी या वनदेवी"। त्यसैले "याहाङ्मा" को शाब्दिक अर्थ "मुखारविन्दुबाट आवाज निकाल्ने रानी वा देवी अर्थात् वन-पहरामा बोल्ने रानी अथवा वनदेवी"।
"याहाङ्मा" शब्दको प्रयोगको धेरै लामो युग भएको अनुमान गर्न सकिन्छ किनभने "याहाङ्मा" को प्रयोग गर्दागर्दै यस्को उच्चारण "याघाङ्मा" भएको र "याघाङ्मा"को उच्चारण हुँदाहुँदा "यागाङ्मा"को अपभ्रंशसम्म आइपुगेको हो। यसो भनिरहँदा "याहाङ्मा" शब्द दिरिङगाउँमै जीवन व्यतीत गर्दै आएका लामसोङहरुको जनजिब्रोबाट अपभ्रंश भएर "याहाङ्मा" "याघाङ्मा" हुँदै "यागाङ्मा" सम्म आइपुगेको हो भन्ने कथन लामसोङहरुमा रहेको छ।
त्यहि "यागाङ्मा" वस्ने वन-पाखा, खोप, भीरपाखालाई "यागाङ्मा खोप" भनिएको छ। "यागाङ्मा खोप" साविक कागुवा खोलाको सबैभन्दा तल्लो पुलदेखि मुनि, माङ्टाङ्खा टोल जाने बाटोको पारिपट्टि दिरिङडाँडागाउँको किपटमा पर्ने वन,पहरा र खोपलाई "यागाङ्मा खोप" भनिन्छ। त्यहि वनपहराको खोपमा भएको बाटो हुँदै माङ्टाङ्खा जानुपर्छ। त्यो बाटोभएर हिड्दा उहिलेउहिले लामसोङ पूर्खाहरुको पालामा दिउँसो मध्यान्हको सुनसान समयमा र मध्यरातको सुनसान समयमा ती वन, पहरा र खोपबाट ती यागाङ्माको आवाजहरु आउने, सुनिने गर्थ्यो रे। नबुझिने छोरीमान्छेहरुको कल्याङमल्याङ् आवाज आउने, गफगाफ गरेजस्तो, कुरा गरेजस्तो, बोलाए जस्तो आवाज आउने गर्थ्यो रे। त्यो यागाङ्माकै बोलि वा आवाज आउँथ्यो भन्ने लामसोङहरुमा किंवदन्तीको रुपमा रहेको छ। त्यो बाटोमा हिडेको बेला त्यसरी जस्ले आवाज सुन्थ्यो त्यो मान्छे विमारी हुने गर्थ्यो रे। त्यो व्यक्तिलाई जिउमा झिङ्झिङ् हुने , वाक्वाकि लाग्ने, रिङगटा लाग्ने, पेट बटारिने, पेट दु:खस्ने, मुटुमा सोला हान्ने, भमिट हुने, डर लाग्ने, होस् हराउने जस्ता बिमारले सताउने गर्थ्यो रे। त्यस्तो बिमार निको पार्न पूर्खाहरुले "यागाङ्मा" लाई काँचो दूधकुण्ड गरेर, नौनीघ्यू, पाती वा तितेपातीको धूपधुवाँर गरेर "विमारबाट छुटकारा देऊ ,दूःख् विमार नगर,तिमीलाई मानमनितो गरेकोछु तिमी भनेको देवी हौ, वनदेवी हौ, दैवीशक्ति हौ, मलाई शक्ति देऊ, विमारीबाट मुक्त गिरदेऊ" भन्दै पुकार, धूपधुँवार गरिसकेपछि यागाङ्माले छोड्थ्यो रे, मत्लव विमारी निको हुन्थ्यो । त्यसैले यागाङ्मालाई पनि दैविशक्ति वा वनपहराकी देवी भनिन्थ्यो। यसरी बेलाबेलामा यागाङ्माले लामसोङहरुलाई बिमारी बनाउने, सताउने, दुःख्-बिमार गराउने हुँनाले पछिल्लो समयमा वनदेवी नभनेर "वनझेँक्री" भन्ने गरियो। भूतको रुपमा सम्झन थालियो र "यागाङ्मा" भन्नासाथ डरलाग्दो तथा भयङ्कर कूरुप राक्षस्नीको कल्पना गरेर डराउन थालियो। त्यहि डरका कारण अहिले पनि त्यो यागाङ्माको, यागाङ्माधाराको बाटो भएर, खोप, वन, भीरपहरा तिर लामसोङहरु एक्लैदोक्लै डुल्दैनन्, डुलघुम गर्न डराउँछन्। यागाङ्मा खोपको बाटो भएर रातको सुनसान समयमा र दिउँसो मध्यान्हको सुनसान समयमा एक्लैदोक्लै हिड्दैनन्। "यागाङ्माले दुःख दिन्छ, बिमार गराउँछ, तर्साउँछ अथवा सातो लान्छ भन्ने कथन लामसोङ्गहरुमा अहिले पनि यथावत नै छ।